किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण नयाँ दिल्लीबाट सुरु

 किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण नयाँ दिल्लीबाट सुरु

पठन संस्कृति प्रबर्द्धनको नेपाली अभियान ‘किताब जात्रा’ले भारतको राजधानी नयाँ दिल्लीबाट विश्व यात्रा सुरू गरेको छ। नयाँ दिल्लीको इन्डिया ह्याबिटेट सेन्टर, लोधीरोडमा बिहीबार किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण उद्घाटन गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतका संस्कृति तथा पर्यटनमन्त्री जी. किशन रेड्डीले संयुक्त रूपमा किताब जात्राको पहिलो अन्तर्राष्ट्रिय संस्करण उद्घाटन गरे। 

उद्‌घाटन कार्यक्रममा बोल्दै मन्त्री आलेले किताब जात्राले आफ्नो अन्तर्राष्ट्रिय संस्करण भारतबाटै सुरु हुनु संयोगमात्रै नभएर नेपाल-भारत सम्बन्धको ऐतिहासिक निरन्तरताको कडीसमेत भएको बताए। ‘नेपाल-भारत सम्बन्ध राजनीतिक-कुटनीतिकमात्रै नभएर जन-जनको सम्बन्ध हो। त्यसैले हाम्रो संस्कृति, कला र साहित्यबीच गहिरो सम्बन्ध छ,’ उनले भने, ‘नेपालको आर्थिक विकासमा प्रभाव पार्ने पर्यटनका साथै धार्मिक सम्बन्ध पनि उतिकै बलियो छ। यस्ता अनेकन आयामका सम्बन्धलाई किताब जात्राले अझै विस्तार गरेको छ।’

उद्घाटन कार्यक्रममा बोल्दै भारतीय मन्त्री रेड्डीले नेपाल–भारत सम्बन्ध सभ्यताको आदिकालदेखि भएकोमा जोड दिए। ‘हाम्रो सम्बन्ध सृष्टि र सभ्यता सुरुदेखिकै भएकाले यसलाई तोड्ने र दूरी पैदा गर्ने जति प्रयास भए पनि असफल हुँदै आएको छ,’ उनले भने ‘आज पनि सबैलाई भन्छु- हाम्रो सम्बन्ध कसैले तोड्न सक्दैन। हाम्रो सभ्यता, संस्कृति, भावना, सन्त-ऋषि, खानपान, आस्थाका केन्द्रलगायत अनेकन आयाम एउटै छ। त्यसैले हामीबीच निरन्तर एकता कायम थियो, छ र हुनेछ।’

उनले गौतम बुद्धको जन्मस्थान नेपाल भएको सन्दर्भलाई बारम्बार दोहोर्‍याउँदै बुद्धले ज्ञान प्राप्त गरेको भूमि भएको कारण पनि भारतले नेपाललाई ज्ञानको मूलको रूपमा लिएको बताए। सोही कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत नेपाल प्रिय देश बनेको उनले खुलासा गरे। 

‘उहाँ नेपालको धेरै भ्रमण गर्ने भारतीय प्रधानमन्त्री हुनुहुन्छ। उहाँको नेपालप्रति निकै लगाव छ,’ उनले थपे ‘त्यो यसकारण पनि हो कि उहाँ आफैंले ज्ञान प्राप्त गर्न पशुपति, कालिगण्डकी र मुक्तिनाथ मन्दिर आसपास चार वर्ष बिताउनुभएको थियो। नेपाल भ्रमणका क्रममा पशुपति, मुक्तिनाथ र जानकी मन्दिर दर्शन गर्न छुटाउनुहुन्न।’

यसै क्रममा उनले विश्वका युवालाई जोड्न किताब जात्राले सुरू गरेको विश्व यात्रालाई थप आयाम दिन भारतमा ‘किताब जात्रा रेल सर्किट’ निर्माणको प्रस्ताव गरे। ‘विश्व यात्राको क्रममा तपाईंहरू बारम्बार भारत आउनुहोस्। साथै किताब जात्रा रेल सर्किट निर्माण गरेर कार्यक्रम गर्नुहोस्। त्यसको लागि जति रेल जति अवधिका लागि चाहिन्छ हामी उपलब्ध गराउँनेछौँ।’